काठमाडौँ । राष्ट्रिय सभाको रिक्त १९ मध्ये १७ सिटका लागि मतदान जारी छ । आइतबार दिउँसो ३ बजे मतदान सकिँदैछ । निर्वाचन आयोगले आजै अपराह्न ५ बजे मत परिणाम सार्वजनिक गर्ने जनाएको छ । कोशीमा खसआर्यतर्फ कांग्रेसका सुनिलबहादुर थापा विजयी भइसकेका छन् ।
चुनावमा नेपाली कांग्रेस, एमाले र जसपा नेपाल (लोसपा) बीच तालमेल भएको छ । कांग्रेसले नौ, एमालेले आठ र लोसपाले एक सिटमा उम्मेदवारी दिएका छन् । यो तालमेलपछि लगभग सबै सिटमा तालमेल गरेका दलका उम्मेदवार विजयी हुने अनुमान छ । हाल राष्ट्रिय सभामा तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) १८ सांसदसहित पहिलो दल छ । तत्कालीन एकीकृत समाजवादीसँग आठ, एमालेसँग ११, जसपा नेपालसँग तीन, लोसपा एक र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन् ।
आगामी २० फागुनदेखि केही सांसदको कार्यकाल सकिँदैछ । कांग्रेसका १६ सांसदको कार्यकाल बाँकी छ ।
नयाँ निर्वाचनपछि कांग्रेसका नौजना विजयी भएमा पार्टीको संख्या २५ पुग्नेछ । नेकपाले नौ सिट गुमाउँदा १७ सिटमा सीमित हुनेछ । एमालेले आठ सिट जितेमा १९ सांसदसहित दोस्रो दल हुनेछ ।
आइतबार कोशी प्रदेशबाट तीन, मधेशबाट चार, बागमती र गण्डकीबाट दुई–दुई, लुम्बिनीबाट तीन, कर्णाली र सुदूरपश्चिमबाट दुई–दुई सदस्य निर्वाचित हुनेछन् । राष्ट्रिय सभामा प्रतिनिधिसभा जस्तै सबै दल एक्लाएक्लै लडेका भए कांग्रेसले १५ सिट जित्थ्यो । एमालेले तीन सिट जित्ने थियो । तर गठबन्धनको फाइदा एमालेलाई भएको छ । कांग्रेसलाई घाटा लागेको छ ।












प्रतिक्रिया