रवि र बालेनको चितवनमा शक्ति प्रदर्शन


काठमाडौं – फागुन २१ को निर्वाचनलाई मध्यनजर गरेर रास्वपाले शुक्रबार चितवनमा चुनावी सभा आयोजना गरेको छ । पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह बालेनसहित केन्द्रीय नेताले चुनावी सभालाई सम्बोधन गरेका छन् ।


रविले बालेनलाई चितवनमा स्वागत गरे । भने, ‘भावी प्रधानमन्त्रीज्यूलाई निलो क्रान्तिको उद्गमस्थलमा स्वागत छ ।’ सभामा लामिछानेले सहकारी ठगी प्रकरणमा आफूविरुद्ध प्रमाण रहेको दाबी गरिएको लामो समय बितिसक्दा पनि त्यसको पुष्टि हुन नसकेको बताए । उनले अब आफूलाई प्रमाण नचाहिएको टिप्पणीसमेत गरे ।

‘मलाई धेरै नबोल, तिखो नबोल, चर्को नबोल भन्छन् । म परे रवि लामिछाने । अलिअलि नघोची हुँदैन । मलाई टुच्च–टुच्च नघोचेको भए म पनि चुप लाग्थेँ । ठाउँ–ठाउँबाट घोचिरहन्छन् । ममाथि प्रमाण छ भनिएको ६५८ दिन भइसक्यो, अब चाहिँदैन प्रमाण । मेरो अन्तिम इच्छा सोधेको पनि धेरै दिन भयो । म चितवनबाट भन्छु—मेरो अन्तिम इच्छा फागुन २१ गते देखाइदिनुहोला,’ उनले भने ।

लामिछानेले सहकारी ठगी प्रकरणलाई लिएर राजनीतिक रूपमा आफूलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाए । उनले प्रमाणबिना आरोप लगाएर जनतालाई भ्रममा पार्ने काम भइरहेको दाबी गरे । रविले आफ्नो दल मागेर देश बनाउने पक्षमा नरहेको स्पष्ट पारे । ‘हामी मागेर होइन, गरिखाने देश बनाउने पक्षमा छौं,’ उनले भने, ‘आत्मनिर्भर र पारदर्शी शासनमार्फत देश परिवर्तन सम्भव छ ।’

यस्तै, रास्वपा वरिष्ठ नेता बालेनले मुलुक हेटौंडा सिमेन्ट कारखानाजस्तै बन्द अवस्थामा पुगेको भन्दै अब चलाउनुपर्ने टिप्पणी गरे । उनले दक्ष जनशक्ति, खानि र आवश्यक औजार हुँदाहुँदै पनि हेटौंडा सिमेन्ट उद्योग बन्द गरिएको भन्दै नेपाली कांग्रेसको ‘वाईवाई’ फ्याक्ट्री जस्तै चल्नुपर्ने टिप्पणी गरे ।

बन्द रहेका सबै कारखाना सञ्चालन तथा नयाँ उद्योग स्थापना गर्ने पार्टीको योजना रहेको भन्दै घण्टी चिन्हमा मतदान गर्न उनले आग्रह गरे । ‘हाम्रो देश हेटौंडा सिमेन्ट कारखाना जस्तै भएको छ । मेसिन पनि छ । मेनपावर पनि छ, खानी पनि छ । तर बन्द । अब चल्नुप¥यो । नेपाली कांग्रेसको वाईवाई फ्याक्ट्रीजस्तै चल्नुप¥यो अब त्यो पनि । पूरै देशभरि चल्नुप¥यो । बन्द भएका सबै उद्योग तथा कारखाना चलाउने पार्टी बन्न चाहन्छौँ हामी,’ उनले भने ।

बालेनले चितवन कृषि क्षेत्रको हब भएको बताए । उनले चितवनलाई कोल्ड स्टोरेजको स्टोर गर्नसक्ने क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताए । चितवनले देशलाई पर्यटन प्रवर्धन सिकाउन सक्ने उल्लेख गरे । बालेनले सम्बोधन गर्नेबेला हुटिङ हुँदा केही बेर सभा अवरुद्ध भएको थियो ।