सर्लाही ३ का रास्वपा उम्मेदवार साह फ्रिमा पेट्रोल बाँड्दै


काठमाडौं । सर्लाही ३ का रास्वपा उम्मेदवार नरेन्द्र साह कलवारले आफ्नो चुनावी प्रचारमा हिँडेका सवारीसाधनलाई फ्रिमा पेट्रोल र डिजेल वितरण गरेका छन् । आइतबार रास्वपाको ¥यालीमा हिँडेका मोटरसाइकल र अन्य गाडीलाई बरहथवा नगरपालिकास्थित हिरापुरमा रहेको एक पेट्रोलपम्पमा फ्रिमा पेट्रोल र डिजेल बाँडिएको हो ।

मोटरसाइकल र गाडीमा रास्वपाको झन्डा हाल्ने जति सबैले फ्रिमा इन्धन पाएका थिए । फ्रिमा पेट्रोल बाँडिएको खबर सुनेपछि छेउछाउका मोटरसाइकल चालक पम्पमा पुगेका थिए । साहले मोटो रकम तिरेर रास्वपाबाट टिकट किनेका थिए । हरेक निर्वाचनका बेला पार्टी परिवर्तन गर्ने प्रवृत्तिका कारण साहसँग मतदाता असन्तुष्ट छन् । प्रत्येक निर्वाचनमा फरकफरक चुनाव चिन्हमा भोट हाल्ने बानी पारेको भन्दै साहसँग मतदाता आक्रोशित भएका हुन् । मतदाता प्रभावित पार्न फ्रिमा पेट्रोल वितरण गरिएको भन्दै अन्य दलले कारबाहीको माग गरेका छन् ।

साह क्यासिनो सञ्चालक हुन् । काठमाडौं, पोखरा, धनगढीलगायतका सहरमा रहेका होटलमा उनले क्यासिनो सञ्चालन गर्दै आएका छन् । तीनपटक चुनावमा उठेका साह यसपटक जसरी पनि चुनाव जित्ने ध्याउन्नमा छन् । सोही कारण अहिले सर्लाही ३ मा उनले पैसाको खोलो बगाएको विपक्षी दलहरुले आरोप लगाएका छन् । यसचोटि पनि चुनाव नजिते क्यानडा पलायन हुने सर्लाही ३ तिर चर्चा छ । उनकी श्रीमतीसँग क्यानडाको पिआर छ ।