काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरु मतदान गरेर आफू उठेका निर्वाचन क्षेत्रमा फर्किन थालेका छन् । आफू उठेका निर्वाचन क्षेत्रमा मतदाता नामावली नभएपछि शीर्ष नेताहरु आफ्नो मतदाता नामावली भएको क्षेत्रमा मतदान गरेर जिल्ला फर्किन लागेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँ ३ स्थित महाकाल चौर पुगेर मतदान गरेका छन् । मतदानपछि मतपेटिका ढोगेका उनी पनि दिउँसो आफू उम्मेदवार बनेको निर्वाचन क्षेत्र चितवन जाँदैछन् । वरिष्ठ नेता बालेन साहले पनि सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका छन् । उनी हेलिकोप्टरमा झापा ५ फर्केका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् । उनले भरतपुर महानगरपालिका १४ स्थित नेपाल प्रहरी स्कुलमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् । केही बेरमा उनी हेलिकोप्टमार्फत् आफू उम्मेदवार बनेको निर्वाचन क्षेत्र रुकुम पूर्व जाँदैछन् ।
एमाले अध्यक्ष केपी ओली पनि भक्तपुरमा मतदान गरेर केही बेरपछि भद्रपुर हुँदै झापा ५ जाँदैछन् । उनी प्लेनमा जान लागेका हुन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँ ४ स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका छन् । मतदानपछि उनी सर्लाही ४ जानेछन् । उपसभापति विश्वप्रकाश शर्माले झापाको मेचीनगर–९ कविशिरोमणी माविको मतदान केन्द्रमा मत हालेका छन्।












प्रतिक्रिया