काठमाडौं । राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन भएका छन् । बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले शाहीलाई दलको नेता चयन गरेको हो । राप्रपा दलका नेता शाहीले आजै प्रमुख सचेतकमा खुश्बु ओलीलाई नियुक्त गरेका छन् । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचित प्रतिनिधिसभा सदस्यहरुको उपस्थितिमा संसदीय दलको बैठक बसी ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मतिले निर्वाचित गरेको छ।
साथै, दलको नेताले खुश्बु ओलीलाई मुख्य सचेतकमा नियुक्त गर्ने निर्णय गरेको छ,’ राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ । दलको बैठकअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फका निर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई बधाई दिएका थिए ।

‘प्रतिकूल परिस्थितिमा पनि आफ्नो अमूल्य मत दिएर राप्रपालाई राष्ट्रिय पार्टी बनाउन योगदान पुरयाउने आम मतदातालाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। राष्ट्रिय प्रजातन्त्र पार्टीले जिम्मेवार प्रतिपक्षका रुपमा रहेर मुलुकको शान्ति, स्थीरता र समृद्धिमा सहयोग गर्नेछ,’ लिङ्देनले भने । अघिल्लो निर्वाचनमा राप्रपाले सात सिट जितेको थियो । र, समानुपातिकमा सात गरी राप्रपाले १४ सिट पाएको थियो । तर यसपटक भने जुम्लाबाट शाही मात्र निर्वाचित भए । समानुपातिकमा चार सांसद पाएको छ । प्रमुख सचेतक ओली समानुपातिक सांसद हुन् ।













प्रतिक्रिया