काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शुक्रबार साँझदेखि शनिबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले शुक्रबार पश्चिम तराई र शनिबार पूर्वी तराईमा भीषण हावाहुरीको चेतावनी दिएको छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार शुक्रबार अपराह्नतिर दाङ, बाँकेको नेपालगन्जसहितका क्षेत्रमा तीव्र गतिको हावा चल्ने देखिएको छ।
र, शनिबार पूर्व क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको उनको भनाइ छ । पोखरेलका अनुसार हावाको गति प्रतिसेकेन्ड झण्डै ३३ मिटर (प्रतिघन्टा ११९ किमि) का दरले चल्ने सम्भावना छ। ‘यस्तो हावाहुरीले रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्छ,’ विभागको विपद् प्रतिकार्य शाखाका उपसचिव रामबहादुर केसीले भने, ‘शुक्रबार र शनिबार सजग हुनुपर्ने देखिन्छ।’ जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार जनकपुर, सिमरा क्षेत्रमा पनि ठुलो हावाहुरीको सम्भावना छ।

यसबाहेक तराई र पहाडी क्षेत्रमा शुक्रबार र शनिबार हावाहुरीसँगै पानी पर्ने आकलन गरिएकोे छ। बिहीबार साँझ पश्चिम नेपाल भएर भित्रिने न्यून चापीय प्रणाली पश्चिमी वायु र स्थानीय वायुमा मिसिएर बलियो बनिरहेको हो। जसले वर्षा, हावाहुरी, चट्याङको जोखिम बढाएको छ। ‘उल्लिखित स्थानमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउनु हुन, विशेष काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरु बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी बिस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।













प्रतिक्रिया