काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले शुक्रबारदेखि आफ्नो कुलिङ पिरियड सुरु भएको बताएका छन् । उनले आफ्नो कार्यकाल पूरा भएको जनाउ दिँदै कुलिङ पिरियडमा कसैले पनि आफ्नो नाम कतै ट्याग नगर्न आग्रह पनि गरेका छन् ।
‘आजदेखि कुलिङ अवधि सुरु हुन्छ। कृपया अब नाम(ट्याग गरिएको परीक्षण बेलुन नलगाउनुहोस्,’ मन्त्री खनालले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसअघि उनले कूटनीतिक राहदानी र मन्त्रीको नाममा खोलिएको इमेल आईडी बुझाइसकेको जानकारी गराएका थिए । धेरैले खनाललाई अर्थमन्त्रीमा निरन्तर देख्न नचाहेका होइनन् । तर उनी राष्ट्रिय सभा सदस्य मनोनीत हुन सकेनन् । अर्थमन्त्रीमा स्वर्णिम वाग्ले पक्का भइसकेका छन् ।
अर्थमन्त्री खनालले आजैदेखि मन्त्रालय नजाने मनस्थिति बनाएको बताइन्छ । निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाइसकेको र रास्वपाले बहुमतको सरकार बनाउन लागेकाले पनि अर्थमन्त्री खनाल सम्भवतः आइतबारदेखि मन्त्रालयको काममा नफर्किने भएका छन् ।
भोलि शनिबार सार्वजनिक बिदा भएको र आइतबारसम्म नयाँ अर्थमन्त्रीको नाम टुंगो लागिसक्ने भएकाले पनि अर्थमन्त्री खनालले सिंहदरबार नजाने भएका हुन् । अर्थमन्त्री खनालले आफ्नो ६ महिने कार्यप्रगतिसमेत सार्वजनिक गरिसकेका छन् ।
उता, प्रधानमन्त्री सुशीला कार्कीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले राजीनामा दिएका छन् । राजीनामा दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, अभूतपूर्व कठिन परिस्थितिमा पनि समस्त नेपालीको आशापुञ्ज बनेर हामीलाई विश्वाश र नेतृत्व गर्नु हुने सम्माननीय प्रधानमन्त्री कार्कीप्रति कृतज्ञता व्यक्त गर्दछु ।’













प्रतिक्रिया