सांसदको शपथलगत्तै रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी विधान संशोधनको तयारीमा जुटेको छ । वरिष्ठ नेता बालेन्द्र साह बालेनलाई बाधा अड्काउ फुकाएर रास्वपाले संसदीय दलको नेता चयन गर्ने भएको छ । केन्द्रीय समिति बैठकले विधान संशोधन गरेलगत्तै संसदीय दलको बैठक बसेर बालेनलाई नेता चयन गरिने भएको छ ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएसँगै रास्वपाको बिहीबार अपराह्न ४ बजेदेखि केन्द्रीय समितिको बैठक बस्दैछ । त्यसको ठीक एक घण्टापछि ५ बजे संसदीय दलको बैठक बस्ने तय गरिएको छ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । शपथ ग्रहणपछि रास्वपाका केन्द्रीय सदस्यहरू कार्यालय पुग्ने जारी छ ।

प्रवक्ता मनिष झाका अनुसार आजका दुवै बैठक अत्यन्त महत्त्वपूर्ण रहनेछन् । विशेषगरी संसदीय दलको नेतृत्व चयन, संसदभित्रको रणनीति तथा समसामयिक राजनीतिक विषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ । संसदमा रास्वपा १८२ सदस्यसहित सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ । बालेनले शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदैछन् ।