काठमाडौँ – रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेपालको ४३औँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपाका संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त संसदीय दलको नेताका रुपमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री बालेनलाई पद तथा गोपनीयताको शपथ गराए ।
प्रधानमन्त्री शाह गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ५ बाट निर्वाचित भएका थिए । उनले निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीलाई ठूलो मतान्तरले पराजित गरे ।
नवनियुक्त प्रधानमन्त्री शाह आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन् । उनको जन्म विसं २०४७ वैशाख १४ गते काठमाडौँको नरदेवीमा भएको हो । उनको पुख्र्यौली घर महोत्तरीको एकडारा हो ।
¥याप आर्टिस्टका रूपमा समेत ख्याति कमाएका शाहले भारतबाट एम टेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् ।
विसं २०७९ को स्थानीय तह निर्वाचनमा शाह काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन उनले गत माघ ४ गते महानगर प्रमुख पदबाट राजीनामा दिएका थिए । शाहले काठमाडौँको प्रमुख रहँदा पर्यटन र अर्थतन्त्र प्रवर्धनका लागि नेवा संरचनाको संरक्षणमा महत्वपूर्ण योगदान दिए । सहरी शासन र विकास कार्यक्रमको नेतृत्व, पूर्वाधार सुधार, सम्पदा संरक्षण र सेवा प्रवाहमा सुधारमासमेत उनको योगदान छ ।
महानगरपालिकाका अवैध संरचना हटाउन, फुटपाथ तथा सहरी व्यवस्थापन गर्न योगदान दिए । नेपालका विभिन्न क्षेत्रमा विशेषगरी भूकम्पपछिको पुनःनिर्माण र सहरी व्यवस्थापनमा उहाँले उल्लेखनीय योगदान गरेका छन् । शाहले २०७२ सालको भूकम्पपछिको पुनःनिर्माणमा सक्रिय सहभागिता जनाएका थिए ।
पुल, सडक र भवन डिजाइन तथा निर्माणमा अनुभव आर्जन गरेका शाहले सम्पदा संरक्षण तथा संरचनागत संरक्षण, पर्यटनमार्फत आर्थिक विकास र परम्परागत नेवा वास्तुकलामा विशेष जोड दिएका छन् ।
दुई दर्जनभन्दा बढी ¥याप कम्पोज गरेका शाहका सिर्जना भ्रष्टाचारको विरोध तथा सुशासनको अपेक्षा, युवा तथा सामाजिक मुद्दामा बढी केन्द्रित छन् । उनका गीतमा बेरोजगारी, असमानता, राजनीतिक विकृतिका साथै राज्य प्रणालीमाथि प्रश्न गरिएको हुन्छ ।
संविधानसभाको दोस्रो निर्वाचनपछि नै शाहले म नेपाल हाँसेको हेर्न चाहन्छु गीत सार्वजनिक गर्दै देशप्रतिको आफ्नो चिन्ता व्यक्त गरेका थिए ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा समर्थन जनाएका शाहमाथि आन्दोलनको कार्यादेश पूरा गर्नुपर्ने अभिभारा आइलागेको छ । नयाँ पुस्ताको बेचैनी र विद्रोहलाई सम्बोधन गर्दैै परिवर्तनको चाहनालाई उनले पूरा गर्नुपर्नेछ ।












प्रतिक्रिया