काठमाडौं । एमाले सचिव महेश बस्नेतले प्रतिशोधको राजनीति सुरु भएको बताएका छन् । एमाले अध्यक्ष केपी ओली पक्राउ परेलगत्तै बस्नेतले सरकारले प्रतिशोध साँधेको भन्दै आन्दोलन थाल्ने घोषणा गरेका हुन् ।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत बस्नेतले वालेन्द्र शाह नेतृत्वको सरकारले प्रतिशोध साँधेको भन्दै प्रतिरोध गर्ने उल्लेख गरेका छन् ।
बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्न एमालेले आन्दोलन गर्ने पनि उल्लेख गरेका छन् । उनले आजैदेखि आन्दोलन थाल्ने र प्रदर्शनको कार्यक्रमबारे केही समयमा जानकारी गराउने जानकारी गराएका छन् ।
‘राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्वपूर्ण सूचक मानिन्छ । नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिन्थ्यो । तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ ।
बालेन सरकारद्वारा सुधन गुरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ ।
यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ,’ उनले भनेका छन्, ‘सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लाग्छ ।












प्रतिक्रिया