ओलीलाई टिचिङ अस्पतालमै राखिने


काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीलाई शिक्षण अस्पताल महाराजगन्जमै राखिने भएको छ । शनिबार बिहान पक्राउ परेका उनलाई स्वास्थ्य परीक्षण गर्न प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको थियो । अस्पतालको आकस्मिक कक्षमा ओलीको स्वास्थ्य परीक्षण भएको अस्पतालका प्रवक्ता डा.गोपाल सेढाईंले बताए ।

‘प्रहरीले अध्यक्ष ओलीलाई स्वास्थ्य परीक्षण गर्न भनेर अस्पताल ल्याएको छ’, उनले भने, ‘अहिले उहाँको रगत, एक्सरेलगायतका स्वास्थ्य परीक्षण भइरहेको छ । परीक्षणको रिपोर्ट आएपछि के गर्ने भन्ने थाहा हुन्छ ।’ एमाले अध्यक्ष ओलीलाई आज बिहान भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर कार्यालयमा एकछिन राखेर स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

उनको स्वास्थ्य अवस्था कमजोर भएकाले अस्पतालमै राखिने भएको हो । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनीसहित पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।