अदालतले महेश बस्नेतलाई पक्राउ अनुमति दिएन


काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न अदालतले अनुमति नदिएको छ।

धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा बस्नेतलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर भद्रकालीमा निवेदन दायर गरेकी थिइन्। यसै आधारमा प्रहरीले अनुमति माग्दै जिल्ला अदालतमा पुनः मिसिल पेश गरेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार, न्यायाधीश ध्रुव कार्कीको बेञ्चमा मिसिल पेश हुँदा अदालतले अनुमति नदिएको हो। अदालतले पहिले नै तामेली गरेको मुद्दामा फेरि पक्राउ अनुमति दिन नमिल्ने भन्दै मिसिल फिर्ता गरेको स्रोतले जनाएको छ।