काठमाडौं । पूर्व मिस नेपाल उषा खड्कीले आफूलाई पूर्वपति जीपी तिमिल्सिनाले मानसिक यातना दिन नछाडेको गुनासो गरेकी छन् । मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लगातार स्टाटस लेख्दै उनले पूर्वपति तिमिल्सिनाले आफूलाई अन्याय र अत्याचार गरेको भन्दै सरकार गुहारेकी हुन् ।
सम्बन्ध विच्छेद भइसकेको पाँच वर्षपछि पनि जीपीले मानसिक यातना दिएको उनको भनाइ छ । मोडल तथा अभिनेत्री उषा र जीपी एउटै घरमा बस्दै आएका छन् । २०७६ मा अदालतले जीपीले अंशवापत घरको एउटा फ्ल्याट उषालाई दिनुपर्ने फैसला सुनाएको थियो । त्यसयता उषा दुई सन्तानसहित सोही घरको फ्ल्याटमा बस्दै आएकी हुन् ।
तर पछिल्लो समय जीपीले बारम्बार ‘आफ्नो घर’ भन्दै धम्काएको उनको आरोप छ । ‘आफू बिहे गरेर त्यही घरमा बच्चाहरुको अगाडि लाज पचाएर बस्ने, अनि मलाई जथाभावी मुख छाड्ने’, उनले लेखेकी छन्, ‘उसको कोही आउँदा जाँदा मलाई भावी बोल्ने, मेरो आफन्त आउँदा चाहिँ नानाथरी भन्ने, डिस्टर्ब गर्ने, अति भएर बोल्दैछु आज ।’ उषाले न्याय मागेकी छन् । ‘अदालतले मलाई पनि यो घर अंशमा दिएको छ, तर मेरो घर, मेरो घर भनेर तनाव मात्र दिने, नयाँ सरकारले मलाई पनि मेरो हक, अधिकार र न्याय दिनुपर्यो ।’












प्रतिक्रिया