काठमाडौँ । नेपाली हास्यप्रधान चलचित्र ‘ककाकिकी’को भव्य प्रिमियर सम्पन्न भएको छ। मंगलबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा चलचित्रका कलाकार तथा निर्माण टिमसँगै नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, निर्माता र चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रिमियरमा चलचित्र हेरेपछि सहभागी अधिकांश चलचित्रकर्मीले यसको कथावस्तु, प्रस्तुतीकरण र मनोरञ्जनात्मक पक्षको प्रशंसा गरेका छन्। विशेषगरी निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले चलचित्रमा प्रस्तुत गरेको फरक शैली, सिर्जनात्मकता र मेहनतको तारिफ भएको थियो।
कमेडी जनरामा निर्माण भएको चलचित्रले प्रिमियरमा दर्शकलाई भरपूर मनोरञ्जन दिएको देखियो। चलचित्रका विभिन्न दृश्यमा हलमा हाँसोको फोहोरा छुटेको थियो। उपस्थित चलचित्रकर्मीहरू समेत खुलेर हाँसेर रमाएका थिए। कथालाई प्रस्तुत गरिएको शैली र कलाकारहरूको अभिनयले चलचित्रलाई मनोरञ्जनात्मक बनाएको प्रतिक्रिया सहभागीहरूले दिएका थिए।
प्रिमियरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, बसुन्धरा भुसाल, चैत्यदेवी, राजाराम पौडेल, किरण केसी, निर्देशक तथा निर्माता मिलन चाम्स, आकाश अधिकारी, अशोक शर्मा, शोभित बस्नेत, कलाकार जयकिशन बस्नेत, विल्सन विक्रम राई तथा गायक शिव परियारलगायतको उपस्थिति रहेको थियो।
चलचित्र हेरेपछि उनीहरूले यसको विषयवस्तु र मनोरञ्जनात्मक प्रस्तुतिको सकारात्मक प्रतिक्रिया दिएका थिए। नेपाली चलचित्रमा हास्य विधालाई फरक शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको भन्दै चलचित्रकर्मीहरूले निर्माण टिमको मेहनतको प्रशंसा गरेका थिए।
निर्देशक बिक्की अग्रवालले प्रिमियरमा चलचित्रकर्मीबाट प्राप्त प्रतिक्रियाले आफूहरूलाई निकै खुसी बनाएको बताए। चलचित्र निर्माणका क्रममा आफ्नो टिमले निकै मेहनत गरेको उल्लेख गर्दै उनले अब चलचित्र दर्शकको हातमा सुम्पिने समय आएको बताए।
आउँदो शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने चलचित्रलाई दर्शकले दिने प्रतिक्रियालाई आफूहरूले सहर्ष स्वीकार गर्ने उनको भनाइ थियो।
त्यस्तै, चलचित्रका कलाकार तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा र महेश त्रिपाठीलगायतले पनि प्रिमियरमा प्राप्त प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताए। चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया पाउँदा खुसी लागेको उल्लेख गर्दै उनीहरूले अब आम दर्शकको प्रतिक्रियाको प्रतीक्षामा रहेको बताएका छन्।
चर्चित कलाकारहरूको उपस्थिति, हलभरि हाँसो र चलचित्रकर्मीको सकारात्मक प्रतिक्रियाले ‘ककाकिकी’को प्रिमियरलाई थप विशेष बनाएको छ। अब शुक्रबारदेखि दर्शकमाझ पुग्न लागेको चलचित्रले बक्स अफिसमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।















प्रतिक्रिया