भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा बिहीबारदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ ।
आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका छन् । परीक्षा चैत २९ गतेसम्म हुने छ । परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी छन् ।
जापानको एक परीक्षा केन्द्रमा २३ जना सहभागी भएका छन् । परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना सहभागी छन् ।
तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने अपाङ्गता भएकाहरुलाई थप एक घण्टा ३० मिनेटको व्यवस्था गरिएको छ । त्यसैगरी, उनीहरुलाई लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययन गरेकालाई अनुमति दिइएको छ ।
७७ वटै जिल्लामा जिल्ला शिक्षा समन्वय इकाइ, स्कुल र प्रहरीसँग समन्वय गरेर परीक्षा केन्द्र व्यवस्थित पारिएको छ । देशभर १९ सय ९१ परीक्षा केन्द्र तोकिएका छन् । अधिकांश केन्द्र सामुदायिक विद्यालयमै राखिएको छ । त्यस्तै, जापानस्थित एक परीक्षा केन्द्रबाट २३ विद्यार्थीले एसइई दिँदै छन् ।
अधिकांश परीक्षा केन्द्रमा सम्बन्धित विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ । त्यस्तै, परीक्षा व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरीले परीक्षा केन्द्रहरूमा करिब १२ हजार पाँच सय सुरक्षाकर्मी खटाएको छ ।
यस वर्ष परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने योजना छ । यसैगरी ‘मार्कस्लिप प्रिन्ट’ गरी ‘ट्याब’मा चढाई खाममा ‘सिलबन्दी’ गरी गोप्य र सुरक्षित रूपमा शिक्षा विकास तथा समन्वय एकाइमा तीन दिनभित्र बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।
केन्द्रले प्राप्त हुने उत्तरपुस्तिकामा ‘प्याकेट’ तोकिएको ढाँचामा लगत खडा गरी राख्नेछ । तत्पश्चात् सिलबन्दी खाममा परीक्षा केन्द्र र विषय उल्लेख गरेर परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) मा पठाउनुपर्नेछ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२ मा परीक्षा समाप्त हुने समयमा तोकिएका परीषकहरू परीक्षण केन्द्रमा पुगिसक्नुपर्ने प्रबन्ध गरिएको छ । सम्बन्धित विद्यालयको उत्तरपुस्तिका नपर्ने गरी परीक्षक र संपरीक्षक व्यवस्था गर्नुपर्नेछ । नतिजा प्रकाशनलाई प्रदेशगत रूपमा पनि प्रकाशन गर्न सकिने व्यवस्था गरिएको छ ।
उत्तरपुस्तिका परीक्षक र संपरीक्षकलाई परीक्षण केन्द्रमा नै रहेर परीक्षण गर्न भनिएको छ । परीक्षण केन्द्र रहेको विद्यालय भवनको सम्भव भएसम्म सिसिटिभी जडान भएको सुरक्षित कक्षमा परीक्षण र संपरीक्षण गराउने व्यवस्था गरिएको छ भने परीक्षण केन्द्रबाट उत्तरपुस्तिका बाहिर लैजाने, तोकिएका परीक्षकको सट्टामा अन्यले परीक्षण गर्ने, तोकिएको योग्यता नपुगेका शिक्षकले परीक्षण गर्ने, उत्तरपुस्तिकाको पोका हराउन वा मिसिन सक्ने जस्ता अनियमितता रोक्ने प्रबन्ध गरिएको छ । परीक्षक र संपरीक्षकले परीक्षण कक्षमा मोबाइललगायतका विद्युतीय उपकरण ल्याउन नहुने निर्देशिकामा उल्लेख छ ।












प्रतिक्रिया