काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेज गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
देशको स्वाधीनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिको संरक्षणका लागि एमसीसी खारेज गर्नुपर्ने उनको तर्क छ । राईले कुनै पनि असमान र राष्ट्रघाती व्यापारिक सन्धि स्वीकार्य नहुने बताए । उनले एमसीसी सम्झौता सैन्य रणनीतिक उद्देश्यसहित अघि बढाइएको दाबी गर्दै त्यसलाई तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराए ।
‘देशको स्वाधिनता, भूराजनीतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिलाई बचाइराख्न, सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान, राष्ट्रघाती व्यापारिक सन्धि सम्झौता एमसीसीलाई खारेज गर्नुपर्छ भनेर म माग गर्न चाहन्छु,’ उनले भने ।
राईले सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूले गरिरहेको गतिविधिलाई सक्रिय रूपमा नेपाल सरकारले निगरानी राख्नुपर्ने र संयुक्त राष्ट्रसंघमार्फत नेपालको सिमाना यकिन गरी त्यसको रक्षार्थ नेपाली सेनालाई खटाउनुपर्छ पनि माग गरे।
राईले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कार्यक्रममा आन्दोलन भड्काउने र दमन गर्ने दोषी पक्षलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग गरे । उनले मुलुकमा सुशासन कायम गर्न सबै राजनीतिककर्मी र सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्न, शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने, एक पालिकामा एक उद्योग, एक घर–एक रोजगारी, बन्द भएका उद्योग सञ्चालन गर्नुपर्ने र नयाँ उद्योग खोल्नुपर्ने माग गरे ।
राईले वर्तमान सरकारलाई शान्ति सुरक्षाका साथै शिक्षा, स्वास्थ्य, खानेपानीलगायत जनताका आवश्यकताका क्षेत्रमा प्रभावकारी काम गर्न ध्यानाकर्षण गराए । विद्यार्थी संगठन खारेजी, ज्येष्ठ नागरिकलाई दिइदै आएको वृद्ध भत्ता वितरणमा नयाँ मापदण्डलगायत सरकारले अघि सारेका विषयमा पुनर्विचार गर्नुपर्ने सुझाव दिँदै घरबारविहीन नागरिकलाई विस्थापन होइन, व्यवस्थापन गर्नुपर्ने उनको माग थियो ।












प्रतिक्रिया