गृहमन्त्री गुरुङ र नेपालका लागि चीनका राजदूत चाड माओमिङ बीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।


काठमाडौं l गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि चीनका राजदूत चाड माओ मिङ बीच आज गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटमा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। जवाफमा गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’प्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपालको भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने बताएका छन्।

उनले अवैध रूपमा नेपालमा बसिरहेका चिनियाँ नागरिकलाई स्वदेश फिर्ता गर्ने प्रक्रिया प्रभावकारी बनाउन आवश्यक सहजीकरणका लागि चिनियाँ पक्षसँग आग्रह गरेका छन्। साथै, चीनको सहयोगमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्न, नेपाल–चीन रेलमार्ग अघि बढाउन तथा द्विपक्षीय व्यापार सहज बनाउन पनि जोड दिएका छन्।

भेटमा नेपाल–चीन सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य बढाउने विषयमा समेत छलफल भएको थियो। चिनियाँ पक्षले नेपालको सुरक्षा निकायको क्षमता अभिवृद्धिमा सहयोग गर्न सकारात्मक रहेको जनाएको छ।

यसैबीच, सिन्धुपाल्चोकको तातोपानी नाकाबाट आवतजावतमा समस्या आएको भन्ने समाचारप्रति चिन्ता व्यक्त गरिएको थियो। तर राजदूत माओमिङले सीमाक्षेत्रमा कुनै अवरोध नरहेको स्पष्ट पार्दै त्यस्ता समाचार भ्रामक भएको बताएका छन्।

गृहमन्त्रालयका अनुसार, दुवै पक्षबीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने सहमति भएको छ।