वैशाख २९ गते मङ्गलबार एसइईको नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयको यस्तो छ तयारी


काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको तयारी थालेको छ ।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाका उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य परीक्षा सकिएलगत्तै सुरु गरिएको र यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने लक्ष्य रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार हाल ३५ जना कर्मचारी टेबुलेसन कार्यमा व्यस्त रहेका छन् । उहाँले निर्धारित समयभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताउनुभयो ।

‘माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ अनुसार परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।

गत वर्ष नियमित तथा स्तरवृद्धितर्फ गरी पाँच लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।