काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा ले सरकारलाई जनजीविकाका मुद्दामा गम्भीर बन्न आग्रह गर्दै संख्याको दम्भ नदेखाउन चेतावनी दिएका छन् ।
सुनसरीमा आयोजित कार्यक्रममा बोल्दै उनले बहुमतको आडमा संविधान र कानुनभन्दा माथि उठेर काम गर्न नहुने बताएका हुन् । प्रधानमन्त्री Balendra Shah लाई लक्षित गर्दै उनले संवैधानिक सीमाभित्र रहेर काम गर्न सुझाव दिए ।
थापाले सुकुम्बासी व्यवस्थापन नगरी बस्ती भत्काउने, उद्योगी–व्यवसायी तथा बैंकका अधिकारीलाई मनपरी पक्राउ गर्ने कार्य भएको आरोप लगाए । यस्ता गतिविधि दोहोरिए कांग्रेसले प्रतिवाद गर्ने चेतावनी पनि उनले दिए ।
उनले इन्धन मूल्यवृद्धि, बढ्दो महँगी र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले नागरिकको जनजीवन प्रभावित भएको उल्लेख गरे । ढुवानी खर्च बढ्दा किसान र निर्माण क्षेत्रसमेत समस्यामा परेको उनको भनाइ थियो ।
सहकारी पीडितको बचत फिर्ता गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै उनले स्वास्थ्य बिमा कार्यक्रम कमजोर बन्दै गएको तथा सीमा क्षेत्रमा गरिएको कडाइले स्थानीय बासिन्दा समस्यामा परेको बताए ।
संविधान संशोधनको विषयलाई खेलाँची नगर्न आग्रह गर्दै थापाले सबै पक्षको भावना समेटेर मात्रै संशोधन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे । साथै, भदौ २४ को घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन उनले माग गरेका छन् ।
सुशासनका विषयमा बोल्दै थापाले सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति र आयस्रोतको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।
















प्रतिक्रिया