विदेशबाट फर्किएका व्यवसायीको श-व जङ्गलमा भेटियो


विराटनगर । विराटनगरमा पिजफायर रेस्टुरेन्ट सञ्चालन गर्दै आएका ५१ वर्षीय मनोज खत्री मोरङको केराबारीस्थित धारापानी जङ्गलमा मृत फेला परेका छन्।

विराटनगर महानगरपालिका–३ निवासी खत्रीको शव शनिबार दिउँसो जङ्गलभित्र रुखमा झुन्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले शव फेला पारेको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

एसपी कटवालका अनुसार खत्री शुक्रबार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए। त्यसपछि उनी घर नफर्किएपछि उनको खोजी भइरहेको थियो कि थिएन भन्नेबारे भने प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन।

खत्री करिब ६ वर्ष जर्मनी र केही वर्ष दुबईमा बसेर स्वदेश फर्किएका थिए। नेपालमै स्वरोजगारमूलक व्यवसाय गर्नुपर्छ भन्ने सोचका साथ उनी रेस्टुरेन्ट व्यवसायमा सक्रिय भएका थिए। उनले विराटनगरको गोल्छा चोक र पिपल चोकमा रेस्टुरेन्ट सञ्चालन गरेका थिए।

उनका निकटस्थहरूका अनुसार व्यवसायमा असफलतापछि उनी हतोत्साहित र निराश थिए। यद्यपि, उनको मृत्युको वास्तविक कारणबारे प्रहरीले औपचारिक निष्कर्ष सार्वजनिक गरिसकेको छैन।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले घटनाबारे जानकारी दिएका छन्। घटनाको थप विवरण तथा मृत्युको कारण अनुसन्धानपछि खुल्नेछ।