आज गणतन्त्र दिवस : १९औँ वर्षमा प्रवेश गरिरहँदा यस वर्ष पहिलो पटक मूल समारोहलाई प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिले सम्बोध


काठमाडौं l आज १९औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाले विसं २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र घोषणा गरेको थियो । जनआन्दोलन २०६२/६३ को उपलब्धिका रूपमा स्थापित गणतन्त्र दिवस हरेक वर्ष जेठ १५ गते मनाइँदै आएको छ ।

राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने व्यवस्था सुनिश्चित गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली प्रारम्भ भएको दिनको स्मरणमा यो दिवस मनाइन्छ । निरंकुश एकात्मक राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको औपचारिक घोषणा भएको ऐतिहासिक दिनका रूपमा यस दिवसलाई विशेष महत्वका साथ लिइन्छ ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनआन्दोलनरत दलहरूको मार्गचित्रअनुसार विघटित संसद् पुनःस्थापना गरेका थिए । यही आन्दोलन गणतन्त्र स्थापनाको आधार बनेको थियो ।

गणतन्त्र दिवस मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति राम चन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।

दिवसका अवसरमा लोकतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको योगदानको स्मरण गरिँदैछ । गणतन्त्रको १८ वर्ष पूरा भई १९औँ वर्षमा प्रवेश गरिरहँदा यस वर्ष पहिलो पटक मूल समारोहलाई प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।