नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका रविन सिजापतीको राजीनामा


काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक (एसडीजीएम) रविन सिजापतीले राजीनामा दिएका छन्। बैंक प्रशासनका अनुसार उनले असार मसान्तदेखि लागू हुने गरी व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन्।

हालै बैंकको एक लिलामी प्रक्रियासम्बन्धी विषयमा राज्यका अनुसन्धान निकायहरूले चासो देखाउन थालेपछि सिजापतीको राजीनामालाई बैंकिङ क्षेत्र र बजारमा विशेष महत्वका साथ हेरिएको छ। यद्यपि, राजीनामाबारे सिजापती स्वयंले कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

सिजापती बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे र नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) महेश शर्मा ढकालपछि तेस्रो वरीयतामा रहेका उच्च अधिकारी थिए। उनको पद डेपुटी सीईओ सरहको जिम्मेवारी र हैसियतको मानिन्छ।

उनको बहिर्गमनपछि उक्त पदमा बढुवाका लागि बैंकभित्र चार जना वरिष्ठ अधिकारीको नाम चर्चामा रहेको बताइएको छ। सचिन टिबरेवाल, सुजाता जोशी, प्रज्ञा पाण्डे र राजेश शर्मामध्ये एक जनालाई जिम्मेवारी दिने सम्भावना रहेको स्रोतको भनाइ छ।

यस्तै, बैंकले आवश्यक ठानेमा बाहिरबाट पनि डेपुटी सीईओ स्तरको अधिकारी नियुक्त गर्न सक्ने सम्भावना रहेको मानव संसाधन विभागका अधिकारीहरूले बताएका छन्।