काठमाडौं – जीडब्लूएम (ग्रेट वाल मोटर्स) को प्रिमियम विद्युतीय एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ। सोमबार आयोजित कार्यक्रममा नेपाली आधिकारिक बिक्रेता कम्पनी भीजी इम्पेक्सले उक्त गाडी सार्वजनिक गरेको हो।
आधुनिक डिजाइन, उच्च प्रविधि र प्रिमियम सुविधासहित आएको यो गाडी नेपाली विद्युतीय सवारी बजारमा नयाँ आकर्षण बन्ने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो प्रतिक्रिया पाएको यो मोडलले नेपालमा विद्युतीय सवारी (ईभी) सेग्मेन्टलाई नयाँ उचाइमा पुर्याउने विश्वास कम्पनीले लिएको छ।

कम्पनीका अनुसार नेपाली सडक अवस्था, ग्राहकको आवश्यकता र आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै ओरा ५ ईभी बजारमा ल्याइएको हो। यो गाडी दुई भेरियन्टमा उपलब्ध छ। मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
ओरा ५ ईभीले एक पटकको पूरा चार्जमा अधिकतम करिब १२० किलोमिटर दूरी तय गर्न सक्ने बताइएको छ। यसमा २०० एमएम ग्राउन्ड क्लियरेन्स, प्यानोरमिक सनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा तथा सेल्फ–हिलिङ पेन्ट प्रविधि जस्ता आधुनिक सुविधा समावेश छन्।
सुरक्षाका हिसाबले यो गाडीले ५–स्टार एएनक्याप तथा ५–स्टार युरो एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीको दाबी छ। यसमा २४ भन्दा बढी उन्नत चालक सहायता प्रणाली (एडास) फिचरहरू रहेका छन्, जसमा लेन कायम सहायता, स्वचालित आपतकालीन ब्रेकिङ, अनुकूल क्रुज नियन्त्रण र ट्राफिक संकेत पहिचान जस्ता प्रविधि समावेश छन्।
विश्वका १७० भन्दा बढी देशमा उपस्थिति रहेको ग्रेट वाल मोटर्सले हालसम्म १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जनाएको छ। कम्पनी ३५ वर्षभन्दा लामो अनुसन्धान, विकास र उत्पादन अनुभवसहित विश्वका अग्रणी अटोमोबाइल ब्रान्डमध्ये एक मानिन्छ।
नेपालमा यो गाडीको आधिकारिक बिक्रेता VG Impex रहेको छ। कम्पनीले नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो मागलाई ध्यानमा राख्दै विश्वस्तरीय प्रविधि, सुरक्षा र प्रिमियम अनुभव भित्र्याउने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा कम्पनी प्रतिनिधिहरूले ओरा ५ ईभीले नेपालमा स्मार्ट, सुरक्षित र वातावरणमैत्री यातायातको नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्। विश्वव्यापी सफलता, आधुनिक डिजाइन, उच्च सुरक्षा र प्रतिस्पर्धी मूल्यका कारण यो गाडी नेपाली ईभी बजारको प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया