खोप अभाव हुन नदिन महानगरद्वारा शुक्रराज अस्पताललाई १८ सय भाइल रेविज खोप सहयोग


काठमाडौं । काठमाडौं महानगरपालिकाले रेविज खोपको सम्भावित अभाव हुन नदिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लाई १,८०० भाइल एन्टी–रेविज खोप उपलब्ध गराएको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोल ले अस्पतालमै पुगेर खोप हस्तान्तरण गर्दै रेविज जस्तो लक्षण देखिएपछि उपचार गर्न नसकिने प्राणघातक रोगको जोखिम न्यूनीकरणका लागि समयमै सहयोग गरिएको बताइन्। जनावरले टोकेपछि उपचारका लागि अधिकांश बिरामी यही अस्पताल पुग्ने भएकाले खोप अभाव हुन नदिन महानगरले प्रतिकारात्मक कदम चालेको उनको भनाइ थियो।

अस्पतालका निर्देशक डा. अनुप बास्तोला का अनुसार अस्पतालमा दैनिक २०० भन्दा बढी व्यक्तिले रेविजविरुद्धको खोप लगाउने गरेका छन्। महानगरले उपलब्ध गराएको खोपले करिब ९ दिनसम्म सेवा सञ्चालन गर्न सहयोग पुग्ने उनले बताए।

अस्पतालले खोप खरिद प्रक्रिया जारी रहेकाले मौज्दात न्यून भएको जानकारीसहित महानगरसँग सहयोग मागेको थियो। माग गरेको सात दिनभित्रै महानगरपालिकाले खोप उपलब्ध गराएपछि सम्भावित अभाव टरेको अस्पतालले जनाएको छ।