सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन


बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।

बाँकेको सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षणपछि कर्मचारी तथा लाभान्वित किसानसँगको अन्तरक्रियामा मन्त्री श्रेष्ठले आयोजनाको सफल कार्यान्वयनले बाँकेको कृषि उत्पादन, खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

सरकार आयोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिए। साथै आयोजना समयमै सम्पन्न गर्न आवश्यक ऐन–कानुन तथा प्रशासनिक प्रक्रियामा देखिएका जटिलता समाधानका लागि आवश्यक पहल गर्ने र बहुवर्षीय ठेक्का तथा सहमतिसम्बन्धी प्रक्रियालाई थप सरल र प्रभावकारी बनाइने बताए।

मन्त्री श्रेष्ठले नहर क्षेत्रको अतिक्रमण, प्रदूषण तथा अनियन्त्रित सहरीकरणका कारण सिँचित क्षेत्र खुम्चिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै नहर संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले सिँचाइ पूर्वाधारसँगै कृषि उत्पादनको बजारीकरण, गुणस्तरीय बीउ र मलको सहज उपलब्धता तथा कृषि मूल्य शृङ्खला विकासमा पनि सरकारले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए।

स्थानीय किसानसँग रोपाइँको अवस्थाबारे जानकारी लिँदै उनले किसानका समस्या र सुझावसमेत सुनेका थिए।

नेपाल सरकारकै स्रोतबाट आर्थिक वर्ष २०६१/६२ मा सुरु भएको सिक्टा सिँचाइ आयोजना बाँकेको राप्ती सोनारी गाउँपालिका–अगैयास्थित राप्ती नदीमा निर्माण गरिएको ३१७ मिटर लामो ब्यारेजमा आधारित छ। आयोजनाले बाँकेका राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नरैनापुर, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका तथा नेपालगञ्ज उपमहानगरपालिकाका ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।

आर्थिक वर्ष २०६८/६९ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत यस आयोजनाको अनुमानित लागत ५२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८९/९० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको हालसम्म ५०.५० प्रतिशत भौतिक र ४५.५३ प्रतिशत वित्तीय प्रगति भएको छ। हालसम्म करिब २४ अर्ब ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भइसकेको आयोजनाले जनाएको छ।