एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार पूरक परीक्षामा १ लाख ४८ हजार ५०७ परीक्षार्थीमध्ये १ लाख २९ हजार १९४ जना सहभागी भएका थिए। सहभागीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्।

विद्यार्थीहरूले परीक्षाफल बोर्डले तोकेका २० वटा संस्थाका वेबसाइट, आइभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सक्नेछन्।

बोर्डले नतिजा प्रकाशनमा कुनै प्राविधिक त्रुटि देखिए आवश्यक सच्याउने व्यवस्था गरिएको जनाएको छ। साथै, पुनःपरीक्षाका लागि आवेदन असार २५ गतेदेखि ३१ गतेसम्म खुला रहने जानकारी पनि दिएको छ।

यस वर्षको एसईई पूरक परीक्षा असार १ देखि ७ गतेसम्म सञ्चालन गरिएको थियो।