राष्ट्र बैंकद्वारा २५ अर्ब रुपैयाँको ऋणपत्रका लागि बोलकबोल आह्वान


काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘ऋणपत्र २०८४ ‘ङ’ को बोलकबोलका लागि आह्वान गरेको छ।

बैंकले सोमबार जारी गरेको सार्वजनिक सूचनाअनुसार ऋणपत्रको बोलकबोल अनलाइनमार्फत गर्न सकिनेछ। यसमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्।

बोलकबोल गर्दा सहभागी संस्थाले आफूले कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछि चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ। राष्ट्र बैंकका अनुसार न्यूनतम पाँच करोड रुपैयाँदेखि, पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।