नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंले मंगलबार फैसला सुनाउँदै खाणलाई संगठित अपराधको ‘मतियार’को रूपमा दोषी ठहर गरेको हो।
यसअघि खाण उक्त प्रकरणमा पुर्पक्षका लागि करिब सात महिना थुनामा बसेका थिए। उच्च अदालत पाटनले २०८० मंसिर २९ गते ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका थिए र बाहिरै बसेर मुद्दा लडिरहेका थिए।
नेपाली कांग्रेसका प्रभावशाली नेताका रूपमा चिनिने खाण पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका निकट मानिन्थे। पछिल्लो महाधिवेशनपछि भने उनी महामन्त्री गगन थापाको समूहसँग नजिकिएका थिए।
खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले धरौटीमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा राख्ने निर्णय गरेपछि उनी कारागारबाट मुक्त भएका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यविरुद्धको अपराध, संगठित अपराध, किर्ते तथा ठगी गरी चार कसुरमा खाणसहित अन्य प्रतिवादीविरुद्ध २०८० जेठ १० गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो।
सरकारी वकिलको कार्यालयले चार मुख्य कसुरबाहेक सम्पत्ति शुद्धीकरण तथा अख्तियारसँग सम्बन्धित विषयमा समेत थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको थियो।
लामो न्यायिक प्रक्रियापछि आएको अदालतको पछिल्लो फैसलाले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा महत्वपूर्ण मोड ल्याएको छ।

















प्रतिक्रिया