गणेश नेपालीको शव परिवारले बुझ्न मानेन, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखियो


काठमाडौं ।गत बिहीबार शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव परिवारले बुझ्न नमानेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ।

नेपालीको परिवार र सरकारका प्रतिनिधिबीच शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यालय तथा वीर अस्पतालमा वार्ता भए पनि सहमति हुन नसकेपछि शव सुरक्षित रूपमा राख्न त्रिवि शिक्षण अस्पताल पठाइएको हो।

परिवारले गणेश नेपालीले सरकारको ज्यादतीका कारण आत्मदाह गर्न बाध्य भएको दाबी गर्दै शव बुझ्न अस्वीकार गरेको जनाएको छ।

वीर अस्पतालका अनुसार शुक्रबार उपचारकै क्रममा नेपालीको मृत्यु भएको थियो। परिवारले शव नबुझ्दासम्म शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको शवगृह (फ्रिज) मा सुरक्षित राखिनेछ।