वर्षौंदेखिको लाइसेन्स प्रतीक्षा अन्त्य, अब २४ घण्टामै स्मार्ट लाइसेन्स


काठमाडौं । लामो समयदेखि छाप्न बाँकी रहेका सबै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सम्पन्न भएको सरकारले जनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार छाप्न बाँकी रहेका करिब २७ लाख स्मार्ट लाइसेन्सको छपाइ कार्य पूरा भएको हो।

मन्त्रालयका अनुसार सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौताअनुसार पहिलो चरणमा २०८२ कात्तिक १२ गते भएको सम्झौताअनुसार १२ लाख र दोस्रो चरणमा २०८३ वैशाख ४ गते भएको सम्झौताअनुसार १५ लाख गरी कुल २७ लाख स्मार्ट लाइसेन्स छाप्ने काम सम्पन्न गरिएको हो।

पुराना सबै लाइसेन्स छाप्ने काम सकिएसँगै अब नयाँ स्मार्ट लाइसेन्स २४ घण्टाभित्र छाप्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका सेवाग्राहीको स्मार्ट लाइसेन्स २४ घण्टाभित्रै छापेर यातायात व्यवस्था विभागलाई हस्तान्तरण गर्ने व्यवस्था हालदेखि नै कार्यान्वयनमा रहेको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार सुरक्षण मुद्रण केन्द्रले अब स्मार्ट लाइसेन्ससँगै नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर, हुलाक टिकट तथा जग्गाधनी प्रमाणपत्रलगायतका सुरक्षण मुद्रण सामग्री उत्पादन गर्ने तयारी पनि अघि बढाएको छ।