औषधि लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन, दिए यस्तो निर्देशन


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको उत्पादन क्षमता, वर्तमान अवस्था र देखिएका समस्याबारे जानकारी लिनुभएको छ।

बबरमहलस्थित लिमिटेडको कार्यालयमा भएको अनुगमनमा मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीसहित मन्त्रालयका उच्च अधिकारी सहभागी थिए। मन्त्री यादवले औषधि उत्पादन कक्षको अवलोकन गर्दै संस्थाको कार्यप्रगति र चुनौतीबारे जानकारी लिनुभयो।

अनुगमनका क्रममा महाप्रबन्धक कैलाश पनेरुले हाल लिमिटेडले २५ प्रकारका अत्यावश्यक औषधि उत्पादन गरिरहेको जानकारी दिँदै उत्पादन गरिएका औषधि देशभर वितरण गर्न आवश्यक सवारीसाधनको अभाव रहेको गुनासो गर्नुभयो। जेनजी आन्दोलनका क्रममा औषधि ढुवानीका लागि प्रयोग हुँदै आएको सवारीसाधन जलेपछि नयाँ सवारीको व्यवस्था हुन नसक्दा वितरण प्रभावित भएको उहाँले बताउनुभयो।

त्यसपछि मन्त्री यादवले मन्त्रालयका सचिव दुवाडीलाई आवश्यक सवारीसाधनको व्यवस्था तत्काल गर्न निर्देशन दिनुभयो।

महाप्रबन्धक पनेरुले वर्षौंदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेड चालु आर्थिक वर्षमा करिब दुई करोड रुपैयाँ नाफामा जान सफल भएको जानकारी पनि मन्त्रीसमक्ष प्रस्तुत गर्नुभयो।

नाफामा गएकोमा खुशी व्यक्त गर्दै मन्त्री यादवले सरकारी उद्योग तथा संस्थानहरू आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले कर्मचारी व्यवस्थापनदेखि कार्यालय सञ्चालनसम्मका खर्च संस्थाले आफ्नै आम्दानीबाट धान्न सक्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो।

मन्त्री यादवले आगामी पाँच वर्षभित्र मुलुकमा निराशाको भाष्य परिवर्तन गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो। उहाँले मेहनती र इमान्दार कर्मचारीको प्रयासले घाटामा रहेको संस्थान पनि नाफामा लैजान सकिने उदाहरण नेपाल औषधि लिमिटेडले प्रस्तुत गरेको बताउनुभयो।

कार्यक्रममा महाप्रबन्धक पनेरुले आवश्यक जनशक्तिको अभावका कारण अत्यावश्यक औषधिको उत्पादनसमेत प्रभावित भइरहेको उल्लेख गर्दै कर्मचारी व्यवस्थापनका लागि मन्त्रालयबाट सहजीकरण गर्न आग्रह गर्नुभयो।

जवाफमा मन्त्री यादवले सवारीसाधन र जनशक्तिसहित प्रस्तुत भएका समस्याको समाधानका लागि मन्त्रालय आवश्यक समन्वय र सहजीकरण गर्न प्रतिबद्ध रहेको बताउँदै उत्पादन, सेवा विस्तार र संस्थाको दीर्घकालीन सुदृढीकरणमा विशेष ध्यान दिन निर्देशन दिनुभयो।