विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले लिए सपथ


काठमाडौं l विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल तथा सदस्यहरू बलराम सिलवाल, लोकराज पाठकजयराज भण्डारीलाई सपथ गराएका हुन्।

सपथपछि मन्त्री श्रेष्ठले आयोगमा अनुभवी नेतृत्व आएको उल्लेख गर्दै नीतिगत तथा संस्थागत सुधारलाई प्राथमिकता दिन निर्देशन दिए। मन्त्रालयबाट आयोगलाई आवश्यक सबै सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

आयोगका अध्यक्ष डा. धितालले सरकारको सुशासनको मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्दै मन्त्रालयसँग समन्वयमा नियामकीय भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने बताए। विद्युत्को राष्ट्रिय खपत बढाउन सहजीकरण गर्ने र आयोगलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “मन्त्रालयसँग नजिकको समन्वयमा काम गर्छौं। यो टिमले निराश पार्दैन।”

सदस्यहरू बलराम सिलवाल, लोकराज पाठक र जयराज भण्डारीले पनि ऊर्जा क्षेत्रमा करिब दुई दशकको अनुभवलाई उपयोग गर्दै नतिजामुखी काम गर्ने प्रतिबद्धता जनाए।

मन्त्री श्रेष्ठले आयोगले नियामकीय निकायका रूपमा ऊर्जा मन्त्रालयअन्तर्गतका ऊर्जा विकास विभाग (डिओई) र नेपाल विद्युत् प्राधिकरण (एनईए)को समेत प्रभावकारी सुपरिवेक्षण गर्नुपर्ने बताए। साथै, विद्युत् प्राधिकरणको खरिद प्रक्रियाको कार्यतालिका तयार गरी नियमित अनुगमन गर्न सुझाव दिए।

उनले आयोगलाई सुशासनको प्रभावकारी उपकरणका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै सामाजिक न्याय, नीतिगत खाडलको पहिचान तथा कानुनी प्रणालीलाई पूर्वानुमानयोग्य र पारदर्शी बनाउने दिशामा काम गर्न आग्रह गरे।

मन्त्री श्रेष्ठले आयोगबाट ऊर्जा क्षेत्रसँग सम्बन्धित निकायहरूको शासकीय सुधारमा ठोस योगदान हुने विश्वास व्यक्त गरे।