विश्वकपपछि नेपालमा २ लाख २३ हजारभन्दा बढी बेटिङ वेबसाइट र एप बन्द


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न २ लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जनाएको छ।

सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४२औँ बुँदाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्ता बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार प्राधिकरणले कारबाहीलाई निरन्तरता दिएको हो।

प्राधिकरणका अनुसार फिफा विश्वकप सुरु भएपछि बेटिङ एपको प्रयोग बढ्न सक्ने आकलन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत विशेष चासो देखाएको थियो। त्यसपछि इन्टरनेट सेवा प्रदायक (आईएसपी)सँग समन्वय गरी बेटिङ तथा अवैधानिक वित्तीय कारोबार हुने वेबसाइटहरू ब्लक गर्ने कार्यलाई तीव्र बनाइएको हो।

प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप अवधिभर आईएसपीका प्रतिनिधिलाई प्राधिकरणमै राखेर त्यस्ता वेबसाइटका यूआरएल ब्लक गर्ने काम गरिएको थियो। उहाँले एउटा वेबसाइट बन्द गरेपछि अर्को नयाँ नाममा खुलिरहने चुनौती रहेकाले ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरेर नयाँ वेबसाइट पहिचान गरी निरन्तर बन्द गर्ने कार्य भइरहेको जानकारी दिनुभयो।

प्राधिकरणले यस्ता अवैधानिक वेबसाइटबारे जानकारी भए नागरिकले github.com/NTA-OPM मार्फत सूचना उपलब्ध गराउन सक्ने जनाएको छ।