काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सेयर बजारमा आएको गिरावटका कारण लगानीकर्ताले ठूलो आर्थिक क्षति व्यहोरेको भन्दै अर्थमन्त्री स्वर्णिम वाग्लेलाई विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन्।
शाहीका अनुसार फागुनदेखि हालसम्म करिब रु. २.१५ खर्ब बराबरको लगानी मूल्य घटेको छ। उनले सेयर बजारको निरन्तर ओरालो यात्राले हजारौँ लगानीकर्ता आर्थिक संकट र मानसिक तनावमा परेको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले लेखेका छन्, “फागुनदेखि अहिलेसम्म करिब रु. २.१५ खर्ब सेयर लगानीकर्ताले रकम गुमाएका छन्। सेयर बजार ध्वस्त भयो, रश्मी रिजाल आत्महत्या गर्न बाध्य भइन्। अर्थमन्त्रीज्यू, यो विषयलाई गम्भीरताका साथ लिनुहोस्।”
उनले अर्थमन्त्रीको आर्थिक नीतिकै कारण सेयर बजार कमजोर बनेको आरोप लगाउँदै सरकारलाई लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन्। साथै, बजारको गिरावटका कारण कतिपय लगानीकर्ता अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेको पनि उनले उल्लेख गरेका छन्।


















प्रतिक्रिया