प्रधानमन्त्री बालेन शाहको राष्ट्रका नाममा सम्बोधन: सुनसरी घटनाप्रति दुःख, दोषीलाई कारबाही र पीडितलाई न्यायको प्रतिबद्धता


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई न्याय र क्षतिपूर्ति दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्रीले सुनसरीमा भएको घटनाले समाजमा डर, अशान्ति र विभाजनको अवस्था सिर्जना गरेको भन्दै यस्तो अवस्था कसैले पनि नचाहने उल्लेख गरेका छन्। उनले घटनाबाट सरकारले गम्भीर पाठ सिकेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णयहरू तत्काल अघि बढाइएको जानकारी दिएका छन्।

सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान गएको र घाइते भएको घटनालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले यसबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनबमोजिम कारबाही हुने विश्वास दिलाएका छन्।

प्रधानमन्त्री शाहले सरकारले पीडितलाई न्याय दिलाउन आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने प्रतिबद्धता जनाउँदै नागरिकलाई संयमित रहन, आक्रोश र बदलाको भावनाबाट टाढा रहन तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

उनले “मान्छेको पहिलो धर्म मान्छे जोगाउनु हो, र सरकारको पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित राख्नु हो” भन्दै सरकारले न्याय, सुरक्षा र क्षतिपूर्ति सुनिश्चित गर्ने बताएका छन्। साथै, सबैलाई उत्तेजनामा नआई प्रेम, सम्मान र सामाजिक सद्भावका साथ अघि बढ्न अपिल गरेका छन्।