काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिमा प्रधानमन्त्री बालेन शाहको भूमिकाप्रति प्रश्न उठाउँदै सबै राजनीतिक दललाई विश्वासमा लिएर तत्काल सर्वदलीय संवाद सुरु गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा बोल्दै थापाले सरकारले संकटका बेला नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे। साथै, सर्वदलीय बैठक आयोजना गरेकोमा उनले रास्वपा सभापति लामिछानेलाई धन्यवादसमेत दिए।
‘एउटा प्रश्न रास्वपा सभापतिमार्फत् सरकारलाई राखेका छौँ, यतिबेला सरकार के गरिरहेको छ? सरकार कहाँ छ? सरकार केबल गोली र लाठीमा मात्र भेटिनु र स्टाटसमा मात्र सीमित रहने? सरकार भनेको अभिभावक मात्र होइन, लिडर पनि हो। उसले अरूलाई विश्वास गर्न सक्नुपर्छ अनि अरूले पनि सरकारलाई विश्वास गर्छन्,’ थापाले भने।
उनले यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाएर राष्ट्रपति, प्रदेश सरकार र स्थानीय सरकारसँग संवाद गर्नुपर्ने तथा सरकारले गरिरहेका प्रयासबारे सबैलाई जानकारी गराउनुपर्ने बताए।
‘यस्तो बेलामा त प्रधानमन्त्रीले सर्वदलीय बैठक राख्ने, राष्ट्रपति भेट्ने, प्रदेश र स्थानीय सरकारसँग संवाद गर्ने र आफूले गरेका प्रयास बताउने हो। साझा प्रयासका आधार तयार गर्ने हो,’ उनले भने, ‘भूकम्प र कोरोनाका बेला पनि राजनीतिक दलबीच तनाव थियो, तर सबै कुरा छाडेर सबै दलका नेताहरू सिंहदरबार आएका थियौँ। यही नेपालको राजनीतिक संस्कार हो।’
सुनसरी घटनाबारे निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै थापाले राज्यको कमजोरीका कारण यस्ता घटना दोहोरिएको टिप्पणी गरे।
‘कसैलाई दोष दिएर मात्र हुँदैन। यो राज्यको असफलताको निरन्तरता हो। मधेसमा कुनै घटना हुँदा अत्यधिक बल प्रयोग गरिन्छ। विगतमा पनि गलत थियो, अहिले पनि गलत हो,’ उनले भने।
प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै थापाले भने, ‘यस्तो बेलामा पनि प्रधानमन्त्री भाउ खाएर बस्ने हो? प्रधानमन्त्री ठालु भएर बस्ने हो? सबैलाई जोड्ने प्रयास गर्नुपर्दैन? प्रधानमन्त्रीले सबैलाई जोड्ने प्रयास गर्नुपर्छ। हामी सरकारलाई सहयोग गर्न चाहन्छौँ।’
उनले नेपाली कांग्रेसले सामाजिक सद्भाव कायम राख्न सधैं जिम्मेवार भूमिका निर्वाह गर्दै आएको पनि बताए।
सुनसरीमा दुई पक्षबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए।
बैठकमा प्रारम्भिक धारणा राखेपछि थापा पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनपछि बोलाइएको आकस्मिक केन्द्रीय समिति बैठकमा सहभागी हुन कांग्रेस केन्द्रीय कार्यालयतर्फ प्रस्थान गरेका थिए।


















प्रतिक्रिया