काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक झडप र त्यसक्रममा भएको नागरिकको मृत्युको घटनाबारे सरकारले निष्पक्ष छानबिन गरी सम्पूर्ण सत्यतथ्य सार्वजनिक गर्न माग गरेकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले उक्त घटनामा गोली कसले चलायो, कसको आदेशमा चलाइयो र नागरिकमाथि बल प्रयोग किन गरियो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताइन्।
‘सुनसरीको कप्तानगञ्जमा गोली कसले चलाएको हो ? कसको आदेशमा सर्वसाधारणमाथि हतियार प्रहार भयो ? यो कुरा पीडित परिवार र आम जनताले स्पष्ट रूपमा जान्न पाउनुपर्छ,’ उनले भनिन्।
उनले सरकारको भूमिकामाथि प्रश्न उठाउँदै थपिन्, ‘के सरकारले आफ्नै नागरिकमाथि गोली बर्साएर देशमा शान्ति–सुरक्षा कायम गर्न खोजेको हो ?’
कप्तानगञ्जमा भएको झडपका क्रममा स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएको उल्लेख गर्दै सांसद ओलीले घटनाप्रति गम्भीर आपत्ति जनाइन्। उनले बल प्रयोग गरेर समस्या दबाउन खोज्नुको सट्टा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिन्।


















प्रतिक्रिया