मन्दिरमा मृत अवस्थामा फेला परेका व्यक्ति धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह


धनुषा । धनुषा प्रहरीले सबैला नगरपालिका–१२, रघुनाथपुरस्थित हनुमान मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका व्यक्तिको घटनाबारे अनुसन्धान तीव्र बनाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन १५ गते राति मन्दिर परिसरमा मृत भेटिएका करिब ४० वर्षीय बन्ठु राउत गडेरी उक्त मन्दिरका पुजारी नभई केही समयदेखि त्यहाँ बस्दै आएका व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली परिचालन गरिएको छ। प्रारम्भिक अनुसन्धानमा मृतक बाहिर कामकाज गरी मन्दिरमा सुत्न आउने गरेको र घटना आपराधिक व्यक्तिहरूबाट भएको देखिएको उल्लेख गरिएको छ।

प्रहरीले उक्त घटनालाई धार्मिक विवादसँग नजोडी शान्ति, सद्भाव र सामाजिक सौहार्द कायम राख्न सबै नागरिकसँग अपिल गरेको छ। साथै घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता पनि व्यक्त गरेको छ।