सर्लाहीको बरहथवा बजारमा बाहिरबाट आएका चार जना प्रदर्शनकारी पक्राउ


सर्लाही । सर्लाहीको बरहथवा बजारमा बाहिरबाट आएर प्रदर्शन, होहल्ला तथा बजारको अवस्था तनावग्रस्त बनाउने प्रयास गरेको आरोपमा चार जनालाई स्थानीयवासी, जनप्रतिनिधि र नेपाल प्रहरीको संयुक्त पहलमा नियन्त्रणमा लिइएको छ।

उनीहरू तीन वटा मोटरसाइकलमा सवार भएर बरहथवा पुगेका थिए। नियन्त्रणमा लिइएका चारै जनालाई इलाका प्रहरी कार्यालय बरहथवाको हिरासतमा राखिएको छ। उनीहरूको साथबाट प्रयोग गरिएका तीन वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रारम्भिक जानकारीअनुसार ती व्यक्तिहरू बाहिरबाट आएर बरहथवाको शान्ति–सुरक्षा अवस्था बिथोल्ने उद्देश्यले प्रदर्शन र होहल्ला गर्न खोजिरहेका थिए। त्यसक्रममा स्थानीयवासी, जनप्रतिनिधि तथा नेपाल प्रहरीको सक्रियतामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

हाल बरहथवा बजारको अवस्था सामान्य रहेको र शान्ति–सुरक्षा स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।