जनकपुरधाम । सर्लाही प्रशासनले नेपाल–भारत खुला सीमाको दुरुपयोग गरी हुन सक्ने आपराधिक गतिविधि तथा अवाञ्छित घुसपैठ रोक्न सीमा नाकामा सुरक्षा जाँच कडा बनाएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार भारतबाट नेपाल प्रवेश गर्ने सबै यात्रुले अब अनिवार्य रूपमा आधिकारिक परिचयपत्र देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार सीमा नाका हुँदै नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले राष्ट्रिय परिचयपत्र, नागरिकता वा अन्य आधिकारिक परिचय खुल्ने कागजात प्रस्तुत गरेपछि मात्र प्रवेश अनुमति दिइनेछ। सीमा क्षेत्रमा सम्भावित जोखिम न्यूनीकरण गर्न सुरक्षा निकायलाई निगरानी र जाँच थप प्रभावकारी बनाउन निर्देशन दिइएको उनले बताए।
यसबीच, जिल्ला सदरमुकाम मलंगवाको अवस्था शुक्रबार तनावपूर्ण बनेको छ। बिहीबार साँझसम्म सामान्य रहेको अवस्था शुक्रबार विभिन्न स्थानमा प्रदर्शन सुरु भएपछि बजार पूर्ण रूपमा बन्द गरिएको छ। शान्ति–सुरक्षा कायम राख्न प्रहरीले सदरमुकाम क्षेत्रमा सुरक्षा सतर्कता उल्लेख्य रूपमा बढाएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कुनै पनि भ्रामक वा अपुष्ट अफवाहमा विश्वास नगर्न तथा आधिकारिक सूचनालाई मात्र आधार बनाउन आग्रह गरेको छ। साथै, सीमा नाका प्रयोग गर्ने यात्रुलाई आवश्यक परिचयपत्र साथमा राखी सुरक्षाकर्मीलाई आवश्यक सहयोग गर्न पनि प्रशासनले अनुरोध गरेको छ।



















प्रतिक्रिया