गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति, सिरहाको अवस्था सामान्य


सिरहा । सिराहाको गोलबजार क्षेत्रमा साउन १४ गते भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ। शुक्रबार औरही गाउँपालिका–२, मोतिपुरमा गृह मन्त्रालय र मृतकका अभिभावकबीच भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।

सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा उनका परिवारलाई नेपाल सरकारका तर्फबाट रु. १० लाख राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यस्तै, साउन १४ गते गोलबजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख गरिएको छ। मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने तथा छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव र सिफारिसहरू कानुनबमोजिम कार्यान्वयन गरिने सरकारको प्रतिबद्धता पनि जनाइएको छ।

सहमतिअनुसार स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा गणेश यादवको स्मृतिमा स्मृति पार्क निर्माण गरिने र पार्कभित्र उनको शालिक स्थापना गरिनेछ। साथै, मृतकको अन्त्येष्टि गर्ने, उनकी श्रीमती र बहिनीलाई उपयुक्त रोजगारी उपलब्ध गराउन पहल गर्ने तथा उनका बुवाको उपचारका लागि आवश्यक पहल गर्ने विषय पनि सहमतिमा समेटिएको छ।

दुई पक्षबीच सहमति भएपछि सिरहाको अवस्था सामान्य बन्दै गएको छ। स्थानीय प्रशासनका अनुसार हाल गोलबजार क्षेत्र शान्त रहेको छ।