काठमाडौं उपत्यकासहित २८ जिल्लामा आकस्मिक बाढीको चेतावनी, सतर्क रहन आग्रह


काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (सोमबार) काठमाडौं उपत्यकासहित २८ जिल्ला र आसपासका क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

आज बिहान जारी गरिएको बुलेटिनअनुसार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भएर बग्ने ससाना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहने सम्भावना छ।

यस्तै ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम) लगायतका जिल्लाबाट बग्ने ससाना नदी तथा खोलाहरूमा पनि पानीको बहाव उल्लेख्य बढ्ने र मध्यम तहको आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।

महाशाखाले नदी किनार, तटीय क्षेत्र, होचा भूभाग तथा बाढीको जोखिम भएका स्थानमा बसोबास गर्ने स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, वर्षाका कारण खोलानाला तर्ने, नदी किनारमा बस्ने वा यात्रा गर्नेहरूले आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।