काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इन्जिनियरहरूको भूमिकामा निर्भर रहने बताउनुभएको छ।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रद्वारा आयोजित नवप्रवेशी युवा इन्जिनियरहरूको तालिम कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारी सेवामा प्रवेश केवल जागिरको सुरुआत नभई राष्ट्र निर्माणको अभियानमा आफूलाई समर्पित गर्ने ऐतिहासिक अवसर भएको उल्लेख गर्नुभयो।
उहाँले प्रत्येक प्राविधिक निर्णय, सुझाव र कार्यले लाखौं नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारीबोध, पारदर्शिता, उत्तरदायित्व र व्यावसायिक नैतिकताका साथ काम गर्न आग्रह गर्नुभयो।
मन्त्री श्रेष्ठले नेपाल ऊर्जा उत्पादन विस्तार, स्वच्छ ऊर्जा प्रवर्द्धन, अन्तरदेशीय विद्युत् व्यापार, सिँचाइ विस्तार तथा जलवायु परिवर्तनअनुकूल पूर्वाधार निर्माणको नयाँ चरणमा रहेको उल्लेख गर्दै यी लक्ष्यहरू दक्ष, प्रतिबद्ध र इमानदार प्राविधिक जनशक्तिको योगदानबाट मात्र पूरा हुने बताउनुभयो।
उहाँले गुणस्तरीय पूर्वाधार निर्माणमा कुनै सम्झौता नगर्न, नयाँ प्रविधि र नवप्रवर्तनलाई आत्मसात् गर्न तथा राष्ट्रहितलाई सर्वोपरि राखेर जिम्मेवारी निर्वाह गर्न नवप्रवेशी इन्जिनियरहरूलाई आग्रह गर्नुभयो। मन्त्री श्रेष्ठले समर्पण, इमानदारी र उत्कृष्ट कार्यसम्पादनबाट मात्रै समृद्ध नेपाल निर्माण सम्भव हुने विश्वास पनि व्यक्त गर्नुभयो।



















प्रतिक्रिया