बायोग्याँस प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौं महानगर र वैकल्पिक ऊर्जा केन्द्रबीच सम्झौता


काठमाडौं । टेकुस्थित बायोग्याँस प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र (AEPC) बीच सम्झौता भएको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले जैविक फोहरको दिगो व्यवस्थापनका लागि प्रविधिमैत्री प्रणाली विकास गर्ने लक्ष्य रहेको बताउँदै निर्धारित समयमै प्लान्ट सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्लान्टको पुनःस्थापनासँगै यसको दीर्घकालीन सञ्चालन र विस्तारमा जोड दिनुभयो।

केन्द्रका कार्यकारी निर्देशक ढकालले आवश्यक उपकरण, सामग्री र प्राविधिक सेवा उपलब्ध गराई परीक्षणपछि प्लान्ट महानगरलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो। साथै हरित जलवायु कोषअन्तर्गतका कार्यक्रमहरूमा पनि दुई निकायबीच सहकार्य हुन सक्ने बताउनुभयो।

२०७२ सालमा निर्माण सुरु भई २०७५ देखि सञ्चालनमा आएको यो प्लान्ट प्राविधिक समस्याका कारण बन्द भएको थियो। दैनिक ३ मेट्रिक टन जैविक फोहर प्रशोधन गरी १४ किलोवाट विद्युत्, ३०० किलोग्राम जैविक मल र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन गर्ने लक्ष्यसहित स्थापना गरिएको परियोजनामा महानगरपालिका र युरोपियन युनियनले १ करोड ८२ लाख रुपैयाँ लगानी गरेका थिए।

नयाँ सम्झौताअनुसार महानगरपालिकाले दीर्घकालीन सञ्चालन, मर्मतसम्भार, बजेट व्यवस्थापन, योग्य सञ्चालक छनोट तथा व्यावसायिक मोडलमा सञ्चालनको जिम्मेवारी लिनेछ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले सम्भाव्यता अध्ययन, उपकरण खरिद, जडान, परीक्षण र हस्तान्तरणको काम सम्पन्न गर्नेछ।

महानगरपालिकाले यस परियोजनालाई सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमार्फत व्यावसायिक रूपमा सफल बनाउने योजना अघि सारेको छ। यसबाट कुहिने फोहरको दिगो व्यवस्थापन, बञ्चरेडाँडामा जाने फोहरको मात्रा घटाउने, ऊर्जा तथा जैविक मल उत्पादन बढाउने र ‘चक्रीय अर्थतन्त्र’ प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।