रिलिजअघि नै विदेशमा ‘बेहुली’को बलियो व्यापार, प्रमुख अन्तर्राष्ट्रिय बजारका अधिकार बिक्री


काठमाडौं । आगामी भदौ २६ गते नेपालभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बेहुली’ ले स्वदेशमा रिलिज हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय व्यापार गरेको छ। निर्माण पक्षका अनुसार चलचित्रका प्रमुख विदेशी बजारहरूको प्रदर्शन अधिकार पूर्ण रूपमा बिक्री भइसकेको छ।

निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरअनुसार अस्ट्रेलिया, उत्तर अमेरिका, मध्यपूर्व र बेलायत लगायत नेपाली चलचित्रका प्रमुख अन्तर्राष्ट्रिय बजारमा वितरण अधिकार बिक्री भइसकेको हो।

अस्ट्रेलियाको प्रदर्शन अधिकार आशिष एन्ड नमस्ते इन्टरटेन्मेन्ट ले खरिद गरेको छ र त्यहाँ पनि चलचित्र नेपालकै मिति भदौ २६ गते प्रदर्शन हुनेछ। अमेरिका र क्यानडाको वितरण अधिकार चलचित्र इन्टरटेन्मेन्ट मुभी डिस्ट्रिब्युसन ले लिएको छ भने दुबई, कतार र बहराइनलगायत मध्यपूर्वका देशहरूमा साथीभाइ इन्टरटेन्मेन्ट ले वितरण गर्नेछ। बेलायतमा भने ९७७ इभेन्ट्स मार्फत चलचित्र असोज १६ गते प्रदर्शन हुने तय भएको छ।

निर्माण पक्षले चलचित्रको प्रचारप्रसारलाई पनि तीव्र बनाएको छ। हालसम्म चलचित्रको फर्स्ट लुक पोस्टर र ‘दिलमा ठाउँ छ’ बोलको पहिलो गीत सार्वजनिक भइसकेको छ। उक्त गीतले युट्युबमा करिब ३० लाख भ्युज र टिकटकमा करिब ६ लाख भिडियो सिर्जना गराउँदै सकारात्मक प्रतिक्रिया बटुलेको निर्माण पक्षको दाबी छ।

सशान कँडेल को निर्देशन तथा माधव शर्मा को लेखन रहेको चलचित्रमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारीकर्मा लामा लगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्र द डिभाइन म्युजिकसम्मान इन्टरटेन्मेन्ट को संयुक्त ब्यानरमा निर्माण गरिएको हो।