‘छ माया छपक्कै २’मा फेरि विवाहेत्तर प्रेम, गीतले खोल्यो कथाको रहस्य
काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौला समूहको चर्चित फ्रेन्चाइज ‘छक्का पञ्जा’का पहिलो र चौथो श्रृंखला विवाहेत्तर सम्बन्धको कथामा आधारित थिए। यही विषयलाई निरन्तरता दिँदै अब ‘छ माया छपक्कै २’ निर्माण भएको छ।
बुधबार सार्वजनिक गरिएको नयाँ गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ले फिल्मको कथावस्तुबारे महत्वपूर्ण संकेत गरेको छ। गीतको भिडियोमा दीपकराज गिरी र केकी अधिकारीलाई श्रीमान्–श्रीमतीको भूमिकामा प्रस्तुत गरिएको छ। उनीहरू नवविवाहित जोडीको रूपमा देखिन्छन्।
तर कथाले त्यतिबेला मोड लिन्छ, जब भिडियोमा दीपकराज र सनिशा भट्टराईबीचको प्रेम सम्बन्धलाई देखाइन्छ। अझ रोचक पक्ष, केकी र सनिशा दुवैलाई एकसाथ गर्भवती देखाइएको छ। यसले फिल्मको कथा विवाहेत्तर प्रेम सम्बन्धकै वरिपरि केन्द्रित रहेको प्रस्ट संकेत गरेको छ।
गीतमा सविन सुवेदी र सहिमा श्रेष्ठको स्वर, राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत रहेको छ। दीपक शर्माले यसअघि ‘छक्का पञ्जा’ श्रृंखलाका ‘देखन चम्पा’, ‘पहिलो नम्बरमा’ र ‘दर्शन सलाम’जस्ता चर्चित गीतमा संगीत दिएका थिए। त्यसैले ‘मायामा एक्सपायरी डेट हुँदैन’ले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी रहेको छ।
दीपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईसँगै निर्मल शर्मा, कर्मा, जितु नेपाल, रिहान गिरीलगायत कलाकारको अभिनय छ।
केही दिनअघि अमेरिकाबाट नेपाल आएका केदार घिमिरे ‘माग्ने बुढा’ पनि फिल्ममा जोडिएका छन्। उनको भूमिकाका दृश्यको छायांकन यसै साता काठमाडौंमा गरिएको हो।
रोहित अधिकारीले निर्माण गरेको फिल्मले विवाहेत्तर सम्बन्धसँग जोडिएको प्रेम, पारिवारिक जटिलता र त्यसबाट उत्पन्न हुने परिस्थितिलाई कथाको मुख्य आधार बनाएको देखिन्छ। सार्वजनिक गीतले नै फिल्मको कथामा रहेको प्रेम र सम्बन्धको पेचिलो पाटोको झलक दिएपछि ‘छ माया छपक्कै २’प्रति दर्शकको चासो थप बढ्ने देखिएको छ।




















प्रतिक्रिया