भ्रामक र एकपक्षीय समाचारप्रति प्रभु बैंकको आपत्ति, वास्तविकताभन्दा फरक ढंगले प्रस्तुत नगर्न आग्रह


काठमाडौं – प्रभु बैंकले सुशासन र पारदर्शितामाथि शंका नगर्न आग्रह गरेको छ । केही सञ्चारमाध्यममा बैंक, सञ्चालक, पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरूलाई बैंकले भ्रामक, एकपक्षीय र आधारहीन भन्दै गम्भीर आपत्ति जनाएको छ।
बैंकले जारी गरेको विज्ञप्तिमा यस्ता समाचारले संस्थागत प्रतिष्ठा, सार्वजनिक विश्वास तथा समग्र वित्तीय प्रणालीमा अनावश्यक भ्रम सिर्जना गरेको उल्लेख गर्दै ती सामग्रीको पूर्ण रूपमा खण्डन गरेको छ।

बैंकका अनुसार कर्मचारी सरुवा, कार्य जिम्मेवारीमा हेरफेर, आन्तरिक व्यवस्थापन, कर्जा असुली प्रक्रिया तथा धितो लिलामी सूचना प्रकाशनजस्ता गतिविधि बैंकिङ व्यवसायका नियमित, कानुनसम्मत र संस्थागत अभ्यास हुन्। यस्ता प्रक्रियालाई वास्तविकताभन्दा फरक ढंगले प्रस्तुत गर्नु उचित नहुने बैंकले जनाएको छ।

प्रभु बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन तथा प्रचलित कानुनअनुसार जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण र सुधारात्मक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको स्पष्ट पारेको छ ।

‘विगतमा केही कर्जा फाइलसम्बन्धी विषयमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भएका र सम्बन्धित मुद्दाहरू सक्षम अदालतमा विचाराधीन रहेका सन्दर्भमा बैंकले नियामकीय प्रावधान तथा प्रचलित कानूनको पूर्ण पालना गर्दै आवश्यक जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण तथा सुधारात्मक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको छ,’ बैंकले विज्ञप्तिमा भनेको छ, ‘भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन बैंक थप सुदृढ प्रणालीसहित निरन्तर प्रतिबद्ध रहेको छ।

बैंकले सञ्चालक समिति तथा व्यवस्थापनका सबै निर्णय सम्बन्धित कानुन, नेपाल राष्ट्र बैंकको निर्देशन र नियामकीय मापदण्डअनुसार हुने उल्लेख गर्दै सुशासन र पारदर्शिताप्रति प्रतिबद्ध रहेको जनाएको छ। उसले सञ्चारमाध्यमलाई समाचार प्रकाशन वा प्रसारणअघि सम्बन्धित पक्षबाट तथ्य पुष्टि गर्न आग्रह गर्दै अनुमान, अपुष्ट स्रोत वा एकपक्षीय सूचनाका आधारमा समाचार सम्प्रेषण गर्दा संस्थाको प्रतिष्ठा, सार्वजनिक विश्वास तथा वित्तीय प्रणालीमा नकारात्मक असर पर्न सक्ने चेतावनी पनि जनाएको छ।

बैंकले निक्षेपकर्ता, कर्जाग्राही, सेयरधनी तथा अन्य सरोकारवालालाई बैंकसम्बन्धी जानकारीका लागि आधिकारिक सूचना र विश्वसनीय स्रोतलाई मात्र आधार बनाउन आग्रह गरेको छ। साथै, प्रेस स्वतन्त्रताको सम्मान गर्दै सत्य, निष्पक्ष र तथ्यमा आधारित पत्रकारितालाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।