काठमाडौं – टाटा मोटर्सले आफ्नो लोकप्रिय विद्युतीय एसयूभी पन्च ईभीको फेसलिफ्ट संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले शुक्रबार आयोजित कार्यक्रममा नयाँ पन्च ईभी सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार नयाँ पन्च ईभीमा आकर्षक डिजाइन, ठूलो ब्याट्री, आधुनिक प्रविधि तथा प्रिमियम फिचर्स थपिएको छ। अघिल्लो संस्करणको तुलनामा बाहिरी डिजाइन, अगाडिको भाग, पछाडिको एलईडी लाइट, ड्यासबोर्ड र इन्टेरियरमा उल्लेखनीय सुधार गरिएको छ।
नयाँ पन्च ईभी ३० किलोवाट–आवर र ४० किलोवाट–आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार ४० किलोवाट–आवर ब्याट्री भएको भेरियन्टले एआरएआई प्रमाणित ४०० किलोमिटरभन्दा बढी रेन्ज दिनेछ भने वास्तविक प्रयोगमा ३०० देखि ३१५ किलोमिटरसम्म यात्रा गर्न सकिनेछ।
यसमा जडान गरिएको शक्तिशाली इलेक्ट्रिक मोटरले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमा हासिल गर्न सक्ने कम्पनीको दाबी छ। साथै ३ ड्राइभ मोड र ४ स्तरको रिजेनेरेटिभ ब्रेकिङ सिस्टमले ड्राइभिङ अनुभवलाई थप सहज बनाउने बताइएको छ।
नेपाली सडकलाई ध्यानमा राख्दै गाडीको ग्राउन्ड क्लियरेन्स १९० एमएमबाट बढाएर १९५ एमएम पुर्याइएको छ। साथै ४५० एमएम वाटर वेडिङ क्षमता भएकाले पानी जमेको तथा खराब सडकमा पनि सहज रूपमा सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ।
चार्जिङ क्षमतामा पनि सुधार गरिएको छ। डीसी फास्ट चार्जर प्रयोग गर्दा २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न केवल २६ मिनेट लाग्नेछ। त्यस्तै १५ मिनेट चार्ज गर्दा करिब १३५ किलोमिटर रेन्ज प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।
फिचर्सतर्फ नयाँ पन्च ईभीमा एलईडी हेडलाइट, डीआरएल, कनेक्टेड एलईडी टेलल्याम्प, १६ इन्च अलोय ह्विल, १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, फ्रन्ट भेन्टिलेटेड लेदरेट सिट, भ्वाइस–असिस्टेड इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल र एयर प्युरिफायर जस्ता आधुनिक सुविधा समावेश गरिएको छ।
सुरक्षाका लागि ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ESC), हिल होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम (TPMS), आइसोफिक्स चाइल्ड माउन्ट र ३६० डिग्री क्यामेरा जस्ता फिचर्स स्ट्यान्डर्ड रूपमा उपलब्ध गराइएको छ।
हाल बजारमा उपलब्ध पन्च ईभीको टप भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ। नयाँ पन्च ईभीको मूल्य भने साउन २६ गतेदेखि सुरु हुने नाइमा अटो एक्स्पोमा सार्वजनिक गरिने सिप्रदी ट्रेडिङले जनाएको छ। कम्पनीका अनुसार नयाँ मोडलको मूल्य अघिल्लो संस्करणभन्दा कम हुने अपेक्षा गरिएको छ।
सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल युनिट प्रमुख सावन्तजंग सिजापतिका अनुसार नयाँ पन्च ईभी तीन भेरियन्टमा उपलब्ध हुनेछ र प्रतिस्पर्धी मूल्यका कारण नेपाली ईभी बजारमा यसले ग्राहकको राम्रो आकर्षण पाउने विश्वास गरिएको छ।



















प्रतिक्रिया