काठमाडौ । प्रा. डा. गान्धी पण्डितले भाडा तिरिसकेपछि पनि रिपोर्टर्स क्लबको ताला नखोलिनु गलत भएको बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब बाहिर आयोजित पत्रकार सम्मेलनमा बोल्दै वर्तमान सरकार सामाजिक सञ्जालबाटै उदाएको उल्लेख गर्दै उनले मिडियामाथि सरकारले यस्तो व्यवहार गर्न नहुने बताए ।
पण्डितले रिपोर्टर्स क्लबका सञ्चालक तथा अध्यक्ष ऋषि धमलाको प्रशंसा गर्दै उनलाई ‘ओपन बुक’को संज्ञा दिए ।
‘ऋषि धमला ओपन बुकजस्तै हो । उहाँ आफैं पत्रकार हुनुहुन्छ । उहाँ आफैं पत्रकारिता गर्नुहुन्छ, आफैं सिर्जना गर्नुहुन्छ,’ पण्डितले भने, ‘हेर्नुस् न, अरू ठूला–ठूला मिडियामा म्यानेजर एउटा हुन्छ, चलाउने अर्को हुन्छ । ऋषि धमला आफैं चलाउनुहुन्छ, आफैं मालिक हुनुहुन्छ, आफैं मिडियाकर्मी पनि हुनुहुन्छ ।’
उनले आफू वर्तमान सरकारको विरोध गर्ने पक्षमा पनि नरहेको र समर्थन गर्ने पक्षमा पनि नरहेको स्पष्ट पारे । तर, रिपोर्टर्स क्लबले विभिन्न आन्दोलन तथा नागरिकका आवाजलाई सार्वजनिक बहसमा ल्याउन खेलेको भूमिकालाई सरकारले स्मरण गर्नुपर्ने उनको भनाइ थियो ।
पण्डितले वर्तमान गृहमन्त्री सुधन गुरुङलाई समेत रिपोर्टर्स क्लबको योगदान स्मरण गराए ।
जेनजी आन्दोलनका क्रममा आन्दोलन अलपत्रजस्तो अवस्थामा रहेको बेला रिपोर्टर्स क्लबले जेनजी अभियन्ताहरूको माग र आवाज जनतामाझ पुर्याउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।
‘सुधन गुरुङ आज गृहमन्त्री बन्नुभएको छ । उहाँ जेनजीको प्रतिनिधित्व गर्नुहुन्थ्यो । जब भदौ २६–२७ तिर धेरै मान्छेको ज्यान गएपछि आन्दोलन अलपत्रजस्तो थियो,’ उनले भने, ‘त्यतिबेला जेनजीको नेतृत्व कसले गरिरहेको छ भन्ने स्पष्ट थिएन । त्यही बेला ऋषि धमलाले यही ठाउँमा सुधन गुरुङलाई बोलाएर जेनजीका माग र आवाज जनतामाझ पुर्याउन थालेपछि सुधन गुरुङले सबैलाई समेट्दै अगाडि बढ्न थाल्नुभयो ।’
रिपोर्टर्स क्लब २०५४ सालदेखि नै तटस्थ रूपमा सबै पक्षका आवाजलाई स्थान दिँदै आएको संस्था भएको उनले बताए । राजनीतिक दल तथा विभिन्न पक्षका व्यक्तिहरूले आफ्ना धारणा र आवाज सार्वजनिक गर्न रिपोर्टर्स क्लबलाई साझा थलोका रूपमा प्रयोग गर्दै आएको उनको भनाइ थियो ।
रास्वपा सभापति रवि लामिछाने अन्यायमा पर्दासमेत पटक–पटक रिपोर्टर्स क्लबमै आएर आफुले आवाज उठाएको उनले स्मरण गरे ।
उनले रिपोर्टस क्लबमा लगाएको ताला तत्काल खोल्न सरकारलाई आग्रहसमेत गरे । `पैसा नतिरेको भए पनि सञ्चालन गर्न दिनुपर्थ्यो, तर पैसा तिरिसकेपछि पनि क्लबको ताला नखोल्नु गलत हो,’ उनले भने ।



















प्रतिक्रिया