काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सार्वजनिक लेखा समितिमा गृहसचिव, सहसचिव तथा नेपाल प्रहरी प्रमुख दानबहादुर कार्कीमाथि रास्वपा सांसद खगेन्द्र सुनारले गरेको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्।
शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले उजुरीकै आधारमा कसैलाई दोषी करार गर्न नमिल्ने बताए।
‘उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन। आरोप जोसुकैले पनि लगाउन सक्छ। त्यसकै आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन,’ उनले भने।
आफू सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित नभएको उल्लेख गर्दै गुरुङले आफ्नो अनुपस्थितिमा गृहका सचिव तथा सहसचिव र प्रहरी प्रमुखमाथि प्रस्तुत गरिएको व्यवहारप्रति गृहमन्त्रीको ध्यानाकर्षण भएको बताए।
‘जसरी हाम्रो सचिवज्यू, सहसचिवज्यूहरू र प्रहरी प्रमुखलाई एउटा समितिमा प्रस्तुत गर्नुभयो, त्यसमा गृहमन्त्रीको ध्यानाकर्षण भएको छ। दिस इज नट राइट, दिस इज नट गुड,’ उनले भने।
गत बुधबार प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदमा अनियमितता भएको भन्दै परेको उजुरीमाथि सार्वजनिक लेखा समितिमा छलफल भएको थियो। सो क्रममा रास्वपा सांसद खगेन्द्र सुनारले उजुरीलाई नैतिकतासँग जोड्दै नेपाल प्रहरी प्रमुख दानबहादुर कार्कीलगायतमाथि प्रश्न उठाएका थिए।





















प्रतिक्रिया